नेपालले टी-२० विश्वकपको अन्तिम खेलमा बंगलादेशसँग २१ रनको पराजय बेहोरेपछि प्रतियोगिताबाट बाहिरिएको छ।
आज सेन्ट भिन्सेन्टको किंग्सटाउनमा भएको खेलमा बंगलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याउँदै नेपाल १९.२ ओभरमा ८५ रनमा अलआउट भयो।
टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले १९.३ ओभरमा १०६ रन बनायो। शाकिब अल हसनले सर्वाधिक १७ रन बनाएका थिए। बंगलादेशका लागि महमदुल्लाह र रिसद होसेनले समान १३ रन, टस्किन अहमद र जाकर अलीले समान १२ रन तथा लिटन दासले १० रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालका लागि सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र सन्दीप लामिछानेले समान २-२ विकेट लिए।
१०७ रनको लक्ष्य पछ्याउँदै जवाफमा ब्याटिङ गरेको नेपाल १९.२ ओभरमा ८५ रनमा अलआउट भयो। कुशल मल्लले ४० बलमा सर्वाधिक २७ रन बनाए। दीपेन्द्रसिंह ऐरीले ३१ बलमा २५ रन तथा आसिफ शेखले १४ बलमा १७ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् भने गुल्सन झा, सोमपाल कामी, सन्दीप लामिछाने र अविनास बोहोराले खाता खोल्न सकेनन्।
बंगलादेशका लागि तन्जिम हसनले ४ विकेट लिए। मुस्तफिजुर रहमानले ३ विकेट लिए। शाकिब अल हसनले २ विकेट तथा तस्किन अहमदले १ विकेट लिए।
यस पराजयसँगै नेपालको टी-२० विश्वकप यात्रा समाप्त भएको छ।