विराटनगरका बस्ती डुबानमा, सयौं घरमा पानी

असार १२, २०८१
Biratnagar Flood

अविरल वर्षाका कारण मोरङको विराटनगर महानगरपालिकाका विभिन्न वडाका बस्ती डुबानमा परेका छन्।

वडा नम्बर ५, ६, ११ र १२ का बस्तीमा पानी पसेपछि स्थानीयको जनजीवन प्रभावित भएको छ।

विराटनगर १२ को सम्पन्न बस्तीसहित विभिन्न क्षेत्र डुबानमा परेको वडा अध्यक्ष हिरालाल कामतले बताएका छन्। डुबानबाट प्रभावितहरुलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ।

वडा नम्बर ५ का वडाध्यक्ष सन्तोष न्यौपानेका अनुसार बिहानदेखि परेको वर्षाले विशाल चोक, सम्झना चोक, पृथ्वी चोक लगायत धेरै स्थान जलमग्न भएका छन्। अध्यक्ष न्यौपानेका अनुसार ३ सय बढी सर्वसाधारणको घरमा पानी पसेको छ।

विराटनगर महानगरपालिका वडा नम्बर ४ को राजवंशी चोक आसपास पनि परेको पानी बस्तीमा पसेको छ।

बाढी प्रभावितलाई राख्नका लागि वडाभित्रका विद्यालय तथा सामुदायिक भवनलाई तयारी अवस्थामा राखिएको उनले बताए।

बस्तीमा बाढी नपसेको तर वर्षाको पानीले निकास नपाउँदा जलमग्न भएको प्रहरीले जनाएको छ। कोशी राजमार्गको मुनालपथ खण्ड पनि पानीले निकास नपाउँदा जलमग्न छ।

मोरङको हरैंचा स्टेसनमा गत २४ घण्टाको अवधिमा ९५ मिलिमिटर र लेटाङमा ३८.६ मिलिमिटर वर्षा मापन भएको छ।

अन्यत्र पनि भारी वर्षा

२४ घण्टाको अवधिमा सबैभन्दा बढी वर्षा झापाको केचनामा १५४ मिलिमिटर र कास्कीको लामापाटनमा १४८ मिलिमिटर वर्षा रेकर्ड भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार केही घण्टायता कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका धेरै स्थानमा वर्षा भइरहेको छ। एक–दुई स्थानमा भारी वर्षा समेत भएको छ।

ठाउँ–ठाउँमा भारी वर्षा गराउने बादल विकसित भएकाले थप वर्षा हुने सम्भावना छ। त्यसले क्षति पुर्‍याउन सक्ने भन्दै पूर्वसतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

जवाफ लेख्नुहोस्

Your email address will not be published.