सिमलतालमा पहिरोले बगायो २ बस: त्रिशूलीमा खोजी जारी, ६५ जना बेपत्ता

असार २८, २०८१
Chitwan Landslide Update

चितवन: नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा आज बिहान साढे ३ बजे लेदोसहितको पहिरोले बगाएका दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएका छन् ।

प्राप्त जानकारी अनुसार, ती बसमा चालकसहित ६५ जना सवार रहेको अनुमान गरिएको छ ।

घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार, काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौं आउँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेका हुन् ।

प्रमुख जिल्ला अधिकारी यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौं जाँदै गरेको बसमा २४ जना सवार रहेका थिए ।

उनले भने, “हामी घटनास्थलमा छौं । पानी परिरहेकाले उद्धारमा समस्या छ । उद्धारको काम थालिएको छ । पहिरो पन्छाउन सुरु गरिएको छ ।”

उनले ती बसमा रहेका यात्रुको यकिन विवरण प्राप्त भइ नसकेको बताए ।

उद्धार कार्य जारी:

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घटनास्थलमा प्रहरी टोली खटिएको छ ।

उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयवासी पनि खटिएका छन् ।

खोजीका लागि गोताखोर पनि बोलाइएको छ ।

मौसम:

अहिले पनि चितवनमा वर्षा भइरहेको छ ।

जसले गर्दा उद्धार कार्यमा बाधा पुर्‍याइरहेको छ ।

अनुरोध:

जिल्ला प्रहरी कार्यालय चितवनले सवारीसाधन चालकहरूलाई नारायणगढ–मुग्लिन सडकखण्डमा सचेत रहन र सकेसम्म यात्रा नगर्न अनुरोध गरेको छ ।

जवाफ लेख्नुहोस्

Your email address will not be published.