तेन्जिङ हिलारी विमानस्थल लुक्लामा अत्यधिक हुस्सु र कम भिजिबिलिटीका कारण गत जेठ २६ गतेदेखि हवाई उडान ठप्प हुँदा खुम्बु भ्रमणमा आएका पर्यटकहरु मर्कामा परेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका एयर ट्राफिक कन्ट्रोलर दिवस दाहालका अनुसार, विमानस्थलमा जहाज र हेलिकप्टरले उडान भर्न नसक्दा सबै उडान तालिका १० दिनदेखि रद्द भइरहेका छन् ।
लुक्लामा मौसमका कारण हेलिकप्टरसमेत अवतरण हुन नसक्दा लुक्लाभन्दा तल रहेको सुर्के हेलिप्याडबाट हेलिकप्टरहरूले उडान गरिरहेको भएपनि त्यहाँबाट पनि सबै पर्यटकलाई उद्धार गर्न नसकिएको उनले बताए ।
भौगोलिक बनावटका कारण लुक्लामा बढी हुस्सु लाग्ने भएकाले उडानमा समस्या हुने गरेको छ ।
यतिखेर खुम्बुमा पर्यटक यामको सकिन लागेकाले लुक्ला भित्रिनेको तुलनामा बाहिरिने बढी छन् । तरपनि मौसमका कारण सबै उडान तालिका रद्द गर्नुपरेको छ ।
लुक्लाभन्दा तल करिब चार घण्टाको पैदल दूरीमा पर्ने थामडाँडासम्म गाडी पुग्ने गर्छ । यसका कारण कतिपय पर्यटक तीनदेखि चार घण्टाको पैदल हिँडेर थामडाँडा झरेर त्यहाँबाट गाडीमार्फत सदरमुकाम सल्लेरी हुँदै काठमाडौं फर्कने गरेका छन् ।
मौसम पूर्वानुमान महाशाखाले मौसम तत्काल खुल्ने सम्भावना नरहेकाले हवाई उडान अझै केही दिन अवरुद्ध हुने जनाएको छ ।
सगरमाथा क्षेत्र भ्रमण गर्न आउने अधिकांश स्वदेशी तथा विदेशी पर्यटकले यही विमानस्थल प्रयोग गर्ने गर्छन् ।
यहाँ काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र रामेछापको मन्थली विमानस्थलबाट उडान हुने गर्दछ ।
यो विमानस्थल भएर बर्सेनि ६० हजारभन्दा बढी विदेशी तथा स्वदेशी पर्यटक सगरमाथा क्षेत्र भ्रमणका लागि पुग्ने गरेको छ ।
लुक्लासम्म सडक सञ्जाल नपुगेकाले यस विमानस्थलको महत्व बढिरहेको छ ।