विगतका तुलनामा मनसुन थप सक्रिय भएको मौसमविदले बताएका छन्। मनसुनी रेखा नेपालको पूर्वी भागतिर थोरै माथि र पश्चिमतिर थोरै तल देखिएको छ। त्यसैले नेपालमा पूर्वदेखि पश्चिमसम्मै ठाउँ–ठाउँमा वर्षा गराउने बादल विकसित भएको छ।
धेरै ठाउँमा वर्षा
त्यसको प्रभावले विगत तीन घण्टायता कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा समेत भएको छ।
काठमाडौंमा पनि वर्षाको सम्भावना
आज काठमाडौं उपत्यकामा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मौसमविद सञ्जिव अधिकारीका अनुसार काठमाडौंमा आज दिउँसोको तुलनामा रातिमा बढी वर्षा हुने सम्भावना छ।
देशभर वर्षाको सम्भावना
मौसमविद अधिकारीले अनलाइनखबरसँग भने, ‘देशभरी नै वर्षा गराउने बादल ठाउँ–ठाउँमा विकास भएको छ, मनसुन एक्टिभ भएको जस्तो देखिन्छ।’ उनले यो प्रणालीलाई नियालिरहेको र विशेष बुलेटिन जारी गरेरै थप जानकारी गराउने बताए।
आगामी तीन दिनसम्म वर्षा
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको नियमित बुलेटिनमा सबै प्रदेशका एक–दुई स्थानमा आगामी तीन दिनसम्मै वर्षाको सम्भावना औंल्याइएको छ।
भारी वर्षाको चेतावनी
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न सतर्कता अपनाउन भनेको छ।
आंशिक असर
ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ।
आगामी दिनमा पनि वर्षा
आगामी विहीबार पनि कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। शुक्रबार सुदूरपश्चिम प्रदेशमा समेत भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।