आजको मौसम: केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

असार १६, २०८१
आजको मौसम

जल तथा मौसम विज्ञान विभागले जारी गरेको ताजा मौसम पूर्वानुमान अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

आज बिहानदेखि देशभर आंशिकदेखि पूर्णतया बदली रहने अनुमान छ । कोशी, लुम्बिनी, कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानका साथै बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । गण्डकी प्रदेशका एक-दुई स्थानमा धेरै वर्षा हुन सक्ने अनुमान छ ।

आज राति पनि देशभर साधारणदेखि पूर्णतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र देशका बाँकी भू-भागका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

यसैगरी, कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा अत्यधिक वर्षा हुन सक्ने अनुमान छ ।

आगामी २४ घण्टामा देशका केही स्थानमा भारी वर्षा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा अत्यधिक वर्षाको सम्भावना रहेको छ ।

विभागले ती क्षेत्रहरुमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरोबाट बच्न तथा त्यसबाट ती क्षेत्रहरुमा दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।