बाजुरामा पानीपुरी, चटपटे खाँदा १२ जना बिरामी, पसल सिल

साउन १५, २०८१
Bajura Pani Puri

बाजुराको बडीमालिका नगरपालिका-९ गैरी बजारमा पानीपुरी र चटपटे खाएपछि १२ जना बिरामी भएका छन्। उनीहरूलाई वाकवाकी लाग्ने, बान्ता हुने, ज्वरो आउने र पखाला लाग्ने जस्ता लक्षण देखिएपछि जिल्ला अस्पताल बाजुरामा भर्ना गरिएको छ।

जिल्ला अस्पतालका सूचना अधिकारी नृपराज गिरीका अनुसार आइतबार र सोमबारमा यी व्यक्तिहरू बिरामी परेका हुन्। उनका अनुसार मौसमी परिवर्तनका साथै यस्ता खाद्य पदार्थको गुणस्तरमा समस्या हुँदा यस्तो अवस्था आएको हुन सक्छ।

पीडितका आफन्तहरूका अनुसार उनीहरूले स्थानीय एक पसलबाट पानीपुरी र चटपटे खाने गरेका थिए। जिल्ला प्रशासन कार्यालयले उक्त पसलबाट खाद्य सामग्रीहरू बरामद गरी परीक्षणका लागि पठाएको छ।

पसल सञ्चालकलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए। परीक्षणको रिपोर्ट आएपछि दोषीलाई खाद्य ऐनअनुसार कारबाही गरिने उनले बताए।